मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप
सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार खोप आपूर्ति भएको छ ।
१२ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ ।
विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिएका हुन्।
रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।
उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भनेका थिए । सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।
विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० डोज खोप प्रदेशमा पठाइएको छ ।
सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार खोप आपूर्ति भएको छ ।
यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम खोप सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।
मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।