लिङ्देनसँग रुष्ट हुँदै राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
पार्टीमा विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको भन्दै उनले आक्रोश पोखेका छन् ।
१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
‘पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी रहेन’, कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राप्रपामा आफूले सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाश चन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख गर्दै कार्कीले वर्तमान नेतृत्वले पार्टीलाई विधि-विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
पार्टीमा विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको भन्दै उनले आक्रोश पोखेका छन् ।
पार्टीमा पुराना र समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई शीर्ष जिम्मेवारी दिइनु, लगातार चुनाव चिन्ह परिवर्तन हुनुले संगठन र कार्यकर्तामाझ निराशा थपिएको उनले बताएका छन् ।
यस्तो प्रवृत्तिले संगठनको आत्मा मरेको अनुभूति हुने र यस्तो नेतृत्वको पछि लाग्नु देश र जनताका लागि धोका हुने कार्कीको निष्कर्ष छ ।