तेस्रो सोमबार पशुपतिमा श्रद्धालुको घुइँचो
हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् ।
१९ साउन, काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार, काठमाडौंको पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।
हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।
यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।
यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।