बागमती सभ्यता विकास समिति अध्यक्षमा ११ जना ‘सर्टलिस्टेड’

बागमतीको उद्गम क्षेत्रमा धाप ड्याम तथा नागमती ड्यामजस्ता परियोजना यो समिति मातहत पर्छन् ।

२६ साउन, काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष पदका लागि निवेदन दिएकामध्ये ११ जना ‘सर्टलिस्टेड’ भएका छन् ।

२० असारमा कार्यकारी अध्यक्षका लागि आवेदन खुलेकोमा त्यस अनुसार आवेदन दिनेमध्ये सर्टलिस्टमा परेकालाई व्यावसायिक प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष सिफारिस समितिले शुक्रबार सर्टलिस्टमा परेका उम्मेदवारको सूची सार्वजनिक गर्र्दै १ र २ भदौमा अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको हो ।

सर्टलिस्टमा पाँचथरका दूतबहादुर गुरुङ, बूढानीलकण्ठ काठमाडौंका डा. पुष्पमान श्रेष्ठ, इलामका डा. भुपालकृष्ण थापा, विराटनगरका पंकजकुमार दास, बूढानीलकण्ठ काठमाडौंकै गोरखराज जोशी, गोरखाका कृष्णसिंह बस्नेत, बर्दियाका मोहनराज जोशी, रामेछापका अर्जुनकुमार खड्का, डाँछी काठमाडौंका दीपकप्रसाद कुइँकेल, धनुषाका रामदेव यादव र पिंगलास्थान काठमाडौंकी डा. माला खरेल छन् ।

काठमाडौं उपत्यकाभित्रका बागमती र यसका सहायक नदीलाई स्वच्छ, सफा र हराभरा बनाउने तथा नदी किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणका लागि गठन आदेश २०७३ मार्फत यो समिति गठन भएको हो ।

समितिले बागमती र अन्य नदी किनारामा बहाब क्षेत्र कायम हुने गरी ढल निर्माण, सडक निर्माण, हरित क्षेत्र निर्माण, तटबन्ध निर्माण तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्र निर्माण गर्दै आएको छ । बागमतीको उद्गम क्षेत्रमा धाप ड्याम तथा नागमती ड्यामजस्ता परियोजना यो समिति मातहत पर्छन् ।

समिति अध्यक्ष सहरी विकासमन्त्री हुन्छन् भने कार्यकारी समिति अध्यक्ष अहिले खाली छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *