इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए ।
२७ साउन, काठमाडौं । प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए ।
उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले स्वागत गरेका थिए ।
त्यहाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई प्रतिक्रिया दिँदै विपिनकी आमा पद्माले आफूहरु विपिनलाई लिन आएको भन्दै सहयोगको अपिल गरिन् । उनले भक्कानिँदै भनिन्, ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ । मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ ।’
विपिनकी बहिनी पुष्पाले पनि आँसु झार्दै भनिन्, ‘मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन । उहाँलाई विनासित्ती नराख्नुस् । हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौं ।’