बेइजिङ वार्ताको मूल बुँदामा बीआरआईको शब्दै परेन

ओलीले पोखरा विमानस्थलबारे ठूलो उपलब्धि हुने भनी यहाँ दिएको आश्वासन पनि पूरा भएको देखिएन


१८ मंसिर, काठमाडौं । चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालय प्रवक्ता कृष्णप्रसाद ढकालले बेइजिङस्थित ग्रेट हल अफ् द पिपलमा प्रेसलाई दिएको जानकारीको पूरा विवरण सुन्दा त्यहाँ बीआरआई भन्ने शब्दै उच्चारण भएन ।

प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग मंगलबार बेइजिङमा गरेको ‘सौहार्द भेटवार्ता’ पछि जुन ९ बुँदे सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ, त्यसमा लेखिएका र नलेखिएका बुँदाले धेरै संकेत दिन्छन् ।

चीनसँग सन् २०१७ मै भएको बीआरआईको एमओयुलाई कार्यान्वयन सम्झौतासम्म लैजान तयार नभए पनि नेपालमा सत्तारुढ कांग्रेस र एमालेले खुब मेहनत गरेर फ्रेमवर्क समझदारीपत्र बनाएका थिए । त्यहाँभित्र उल्लेख भएका थुप्रै विषय सहमतिमा परेका छन् । मदन भण्डारी विश्वविद्यालय लगायत यहाँ सहमति भएका विषय नौ बुँदे सहमतिमा अँटाएका छैनन् । अनि उक्त फ्रेमवर्क स्वयंको अस्तित्वलाई चीनले कति पहिचान गरिदियो भन्ने स्पष्ट हुन सकेको छैन ।

नेपालमा खुब हल्ला भएको फ्रेमवर्क सहमतिको पनि त्यहाँ चर्चा भएन । अनि प्रधानमन्त्री केपी ओलीले पोखरा विमानस्थलबारे ठूलो उपलब्धि हुने भनी यहाँ दिएको आश्वासन पनि पूरा भएको देखिएन ।

जानकारहरुले बताए अनुसार यसअघिका भ्रमणहरुमा भइसकेका एजेन्डालाई फेरि उच्चारण गर्नेबाहेक उल्लेख्य सहमति भएको देखिँदैन । ऋणलाई अनुदानमा बदल्ने काठमाडौंका बाचाहरु पनि त्यहाँ गएर कार्यान्वयनको दिशातर्फ लगेको पाइएन । स्वयं बीआरआई परियोजना, जुन चीनको विश्वव्यापी स्तरको महत्वाकांक्षी कदम हो, त्यसमा नेपाल कसरी अघि बढ्छ भन्ने अन्योल पनि जारी नै छ । यस्तो अवस्थामा हाललाई अप्ठेरो परिस्थितिमा पनि चीन जान सक्नु र द्विदेशीय सम्बन्धलाई न्यानो बनाइराख्न मेहनत गर्नुमा नै ओली भ्रमणको सफलता मान्नुपर्ने हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *