नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो
३० साउन, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन् ।
प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनको दायाँ खुट्टाम गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।