वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नन्दलाई गोलसिमलको संज्ञा दिएका थिए ।

२ भदौ, चितवन । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल  गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।

गजलमा नै दोहोरी फर्काउन सक्ने क्षमता भएका नन्दनले विभिन्न विद्यामा आफ्ना रचनाहरु सिर्जना गरेका छन् ।

तनहुँको बन्दिपुरमा जन्मिएका नन्दनले केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसाय गरेका थिए । २०१९ सालमा नारायणगढ बजार झरेका नन्दनले राजधानी बाहिर बसेर नै आफूलाई स्थापित गराउन सफल भएका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नन्दलाई गोलसिमलको संज्ञा दिएका थिए ।

नन्दनले लेखेका गीतहरुमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन्।

कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जालगायतका नेपाली चलचित्रमा उनले लेखेका गीतहरू चर्चित बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *