ऋषिपञ्चमी : गौरीघाटमा स्नान र पूजा-आराधना
यसदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् ।
यसदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।