विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका मैले खोलिदिएको हुँ : प्रचण्ड
आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको प्रचण्डको भनाइ छ ।
१२ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् ।
आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको प्रचण्डको भनाइ छ ।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ ।’
उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने बताए । उनले भने, ‘हाम्रो संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन ।’