छापा हान्दा गोदामबाटै चिनी गायब : एसपीसहित तीन सशस्त्र प्रहरी अधिकृत तानिए
करिब सात सय केजी तस्करीको चिनी रहेको गोदाममा छापा हानेर उनीहरूले १०६ बोरा मात्र भन्सार बुझाएको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको हो ।
१३ भदौ, काठमाडौं । छापा हान्ने क्रममा गोदामबाटै चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एसपीसहित तीन अधिकृत छानबिनमा तानिएका छन् । रौतहटस्थित ११ नम्बर गणका एसपी सन्तोष बस्नेतसहित डिएसपीद्वय अमर लामा र राजेन्द्र बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएको हो ।
करिब सात सय केजी तस्करीको चिनी रहेको गोदाममा छापा हानेर उनीहरूले १०६ बोरा मात्र भन्सार बुझाएको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको हो । प्रारम्भिक छानबिनमा चिनी गायब बनाएको आधार देखिएपछि जिल्लाका एसपी नै तानिएका हुन् ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले रौतहटमा चिनी गायब बनाइएको आशंकामा केही अधिकारीमाथि छानबिन चलिरहेको बताए । डिएसपी लामा ११ नम्बर गण तथा डिएसपी बस्नेत सशस्त्र प्रहरी बेस सन्तपुरमा कार्यरत थिए । गणबाट केही दिनका लागि प्रस्तावित सीमा सुरक्षा गुल्म, गौर खटिएकै भोलिपल्ट डिएसपी लामाले छापा हान्ने क्रममा बदमासी गरेका हुन् । छानबिनको केन्द्रमा रहेका डिएसपी लामाले इन्स्पेक्टर हुँदादेखि नै सोही क्षेत्रमा पोस्टिङ मिलाउँदै आएका छन् । गुल्म बिओपी हुँदा पनि उहाँ त्यहाँ बसेका थिए । यो घटनामा तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीमाथि समेत सोधपुछ भइरहेको छ ।
गत २९ साउनमा डिएसपी लामा र बस्नेत नेतृत्वको टोलीले चन्द्रपुरस्थित एक गोदाममा छापा हानेको थियो । दुईवटा ट्रकमा चिनी लोड गरिएकोमा एउटा ठुलो ट्रक भने गायब बनाइएको स्रोत बताउँछ । सोही घटनामा एसपी र दुई डिएसपी कारबाहीमा तानिएका हुन् । तराईका अन्य जिल्लाका कमान्डरविरुद्ध पनि उजुरी परेको र छानबिन चलिरहेको सशस्त्र प्रहरी मुख्यालय स्रोत बताउँछ ।