रास्वपा नेता बदन भण्डारीमाथि कुटपिट
बदनको टाउकोमा गहिरो चोट लागेको छ, १० वटा टाँका लगाइएको छ,’ रास्वपा नेता दीपक बोहोराले भने, ‘सिटी स्क्यान रिपोर्ट सकारात्मक आएको छ ।
१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो ।
कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।
‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १० वटा टाँका लगाइएको छ,’ रास्वपा नेता दीपक बोहोराले भने, ‘सिटी स्क्यान रिपोर्ट सकारात्मक आएको छ । र, आज पुन: फलोअपका लागि बोलाइएको छ ।’
उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीमा अवस्थित स्तूपा सामुदायिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।
बुधबार राति करिब आठ बजेतिर कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्किंदै गर्दा बाटोमा आक्रमण भएको उनले बताएका छन् । उनका अनुसार मोटरसाइकलमा रहेका तीन जना व्यक्तिहरुमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए । बोहराका अनुसार बदनले भागेर घरभित्र छिरेपछि आक्रमणकारी भागेको र आफ्नो ज्यान जोगिएको बताएका छन् ।
आक्रमणकारी को हुने भन्ने खुलेको छैन । रास्वपाले यसको सूचना प्रहरीलाई दिएको छ । बौद्ध प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।