कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
उनले सरकारको कदमले आफूलाई ‘अपराधबोध’ भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन्।
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन्।
उनले सरकारको कदमले आफूलाई ‘अपराधबोध’ भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन्।
उनले लेखेका छन्,ʻस–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु।ʼ