प्रधानमन्त्रीको तत्काल राजीनामा चाहियो, सन्दर्भहीन बैठक होइन
ओलीले उक्त पद छोड्न जति ढिलाइ गर्छन्, मुलुकको नोक्सानी अझ बढेर जाने देखिन्छ ।
२४ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनले देशभर आगो सल्किसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लगभग सन्दर्भहीन सर्वदलीय बैठक बोलाएका छन् ।
एउटा वक्तव्य जारी गरी उनले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् । उनले बोलाएको सर्वदलीय बैठकमा सत्ता साझेदार अरू दल त के आफ्नै मन्त्रिपरिषद्का सदस्यहरू समेत जाने परिस्थिति छैन ।
जेनजीहरूको प्रदर्शनमा नृशंस गोली प्रहार ओलीकै निर्देशनमा भएको थियो । स्कुल र कलेजका पोशाकमा प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार हुँदा हिजै २० जनाको मृत्यु र पाँच सय बढी घाइते भएका थिए ।
यस्तो दृश्यपछि गृहमन्त्री पदबाट रमेश लेखकले राजीनामा दिइसके । तर जेनजी प्रदर्शनले देशभर आगो लागिरहँदा ओली सन्दर्भहीन बक्तव्य जारी गरेर बसेका छन् ।
ओलीको अहम् भने अझै उस्तै देखिन्छ ।
मुलुकलाई थप क्षति हुन नदिन ओलीले अब कुनै बैठक र वार्ताको बाहना नगरी राजीनामा गर्नु उचित हुन्छ । ओलीले उक्त पद छोड्न जति ढिलाइ गर्छन्, मुलुकको नोक्सानी अझ बढेर जाने देखिन्छ ।