काठमाडौं महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको मेयर साहले बताएका छन् ।
५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।
मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।
१ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।
पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको मेयर साहले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो । देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो ।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’