कांग्रेस चुनावबाट पछि हट्दैन : रामहरि खतिवडा

वर्तमान सरकार चुनाव गराउनका लागि राजनीतिक दलहरूसँग संवादमा नरहेको बताउँदै उनले चिन्ता व्यक्त गरे ।

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफ्नो पार्टी चुनावबाट पछि नहट्ने प्रष्ट पारेका छन् ।

मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका खतिवडाले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।

तर, वर्तमान सरकार चुनाव गराउनका लागि राजनीतिक दलहरूसँग संवादमा नरहेको बताउँदै उनले चिन्ता व्यक्त गरे ।

‘चुनाव गराउन सरकार लाग्यो भने त्यसबाट कांग्रेस पछाडि जाँदैन । तर, यो देशमा राजनीतिक दल छन् भन्ने कुरा कांग्रेसले बिर्सेको जस्तो देखिन्छ,’ खतिवडाले भने, ‘हामी अनुरोध गर्न चाहन्छौं, राजनीतिक दलसँग संवाद नगरी चुनावको बाटो तयार हुँदैन ।’

साथै, उनले पार्टीको आन्तरिक जीवनका लागि आजबाट बस्न लागेको केन्द्रीय समिति बैठक कोशेढुंगा सावित हुने पनि बताए ।

‘कांग्रेस एक नभइ राजनीतिक अवस्था संग्लो हुने मैले देखेको छैन । यो बैठक कोशेढुंगा सावित हुने विश्वास गरेका छौं,’ खतिवडाले भने ।

सर्वोच्च अदालतमा परेका रिटहरूबारे जानकारी भएको बताउँलै सर्वोच्चको निर्णय पनि कुर्ने बताए ।

‘सर्वोच्च अदालतमा रिटहरू परेको हामीले सुनेका छौं । त्यसबारे पनि हामी त्यो निर्णयको प्रतिक्षा गर्छौं । तर, चुनावमा कांग्रेस पछि हट्दैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *