एनपीएलः चितवनविरुद्ध पहिलो जितको खोजीमा लुम्बिनी


नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन्। पहिलो खेल बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुने छ।
चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ। तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो।
यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ। लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ। कर्णाली चौथो स्थानमा छ। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो। कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो।

यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।

आइतबारसम्म १५ खेल सम्पन्न भएका छन्। यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। उसले चार खेलबाट आठ अङ्क जोडेको छ। जनकपुर बोल्टस्ले उद्‍घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो।
एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ। यसले चार खेलबाट ६ अङ्क जोडेको छ। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो।
काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ। काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो। दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो।
विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ। विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो। पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुई विकेटले पराजित गरेको थियो। चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *