३४ वर्षीय ममदानी बने न्यूयोर्कको मेयर

जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।

काठमाडौं : अमेरिकाको ठूलो शहर न्यूयोर्कको मेयरमा जोहरान ममदानी विजयी भएका छन्। उनी मुस्लिम समुदायबाट पहिलो मेयर बनेका हुन्।

३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् ।

जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।

उनका समर्थकहरू खुसीयाली मनाइरहेका छन्। उनीहरू एकअर्कालाई बधाइ दिइरहेका छन्।

मेयरको दौडमा  ममदानी र एन्ड्रयू कुओमो थिए। कर्टिस स्लिभा रिपब्लिकन पार्टीका उम्मेदवार थिए।  स्लिभाले आफ्नो हार स्वीकार गरेका छन् र ममदानीको शुभकामना दिएका छन्।  उनले भने, ‘अब हामीसँग निर्वाचित मेयर हुनुहुन्छ। म उनलाई शुभकामना दिन्छु। किनकि यदि उनले राम्रो गरे भने हामी सबैका लागि राम्रो हुनेछ।’

को हुन् ममदानी ?

३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप र्‍यापर थिए। उनको चर्चित गीत ‘काण्डा‘ युगान्डामा निकै भाइरल भएको थियो, जसमा कम्पालाको जीवन र युवाहरूको संघर्ष चित्रण गरिएको थियो।

ममदानी भन्छन्, ‘सङ्गीतकै माध्यमबाट मैले पहिलोपटक महसुस गरेँ कि समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ।’

कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए। सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे।

सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।

आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।

उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पुर्‍याउने प्रस्ताव राखे।

अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।

तीमध्ये एक ‘भाडा नियन्त्रण विधेयक’ मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो।

ममदानीले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *