संसद् पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा देशव्यापी प्रदर्शन
चितवनको सभालाई उपाध्यक्ष रामबहादुर थापाले सम्बोधन गरेका थिए। उनले सरकारद्वारा फागुन २१ गते घोषित निर्वाचन दलहरूलाई विस्थापन गर्ने ‘हनी ट्रयाप’ मात्रै भएको बताए।
काठमाडौं : एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै शनिबार देशभर प्रदर्शन गरेको छ। जेन–जी आन्दोलनपछि भएको संसद् विघटन र सरकार गठनप्रति रुष्ट एमालेले संसद् पुनर्स्थापनाको माग गरिरहेको छ। सरकारले फागुन २१ को निर्वाचन घोषणा गरे पनि सरकार नै निर्वाचन गराउने बाटोमा नगएको भन्दै एमालेले शनिबार जिल्ला सदरमुकाम र ठूला सहरमा प्रदर्शन गरेको हो। त्यसका लागि एमालेले विभिन्न नेताहरूलाई जिल्लामा खटाएको थियो।
नेपालगन्जको सभालाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए। त्यस क्रममा पोखरेलले एमालेलाई सिध्याउने षड्यन्त्र भए पनि जनताको बीचमा एमाले मात्रै रहेको बताए। ‘एमालेका नेता/कार्यकर्तालाई संकटसँग जुध्ने अनुभव छ,’ पोखरेलले भने, ‘हाम्रो पार्टी कार्यालय जलाएपछि एमाले सकिन्छ भन्ने कुरा षड्यन्त्रकारीलाई लागेको थियो। तर, अहिले मैदानमा हेर्नुभयो भने एमालेभन्दा अरू कुनै शक्ति देख्नुभएको छ ?’
चितवनको सभालाई उपाध्यक्ष रामबहादुर थापाले सम्बोधन गरेका थिए। उनले सरकारद्वारा फागुन २१ गते घोषित निर्वाचन दलहरूलाई विस्थापन गर्ने ‘हनी ट्रयाप’ मात्रै भएको बताए।
‘फागुन २१ गते सरकारले घोषणा गरेको निर्वाचनले प्रतिक्रान्तिलाई वैधानिकता दिने र दलहरूलाई विस्थापित गर्ने हनी ट्र्याप मात्रै हो,’ थापाले भने, ‘साम्राज्यवादीहरूले दलालहरूलाई स्थापित गर्ने र प्रतिक्रान्तिलाई पूर्णता दिने र प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिने नौटंकी हो। यो एउटा हनी
ट्रयाप मात्रै हो।’
सभामा एमाले सचिव छविलाल विश्वकर्माले जेन–जी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने माग गरे। कैलालीमा आयोजित सभामा एमालेका अर्का सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका लागि एमाले संघर्षमा आएको दाबी गरे। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको भट्टको दाबी थियो। उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसद पुनर्स्थापना नभई राजनीतिक संकट पार नलाग्ने बताउँदै फागुन २१ गते सरकारले नै चुनाव नगर्ने आरोप लगाए। संसद् पुनर्स्थापना मात्रै राजनीतिक संकट समाधानको विकल्प भएको गुरुङले बताए।