एमाले अध्यक्षमा उम्मेदवारी दिने पोखरेलको घोषणा
पार्टी निर्माणका लागि ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु।
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले मंगलबार वक्तव्य जारी गरेर पार्टी पुनर्गठन र रुपान्तरणका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेलले शनिबार सार्वजनिक गरेको विस्तृत राजनीतिक–संगठनात्मक अभिव्यक्तिमा आफू नेतृत्वका लागि तयार भएको बताएका छन्।
‘पार्टी निर्माणका लागि ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको दाबी गरेका छन्। ‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले भनेका छन्।