जफत गरेको रूसी सम्पत्तिबाट अमेरिकाले युक्रेनलाई २० अर्ब डलर दिने

अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने


२६ मंसिर, काठमाडौं । अमेरिकाले युक्रेनलाई रूसबाट जफत गरेको सम्पत्तिबाट २० अर्ब डलर सघाउने भएको छ ।

बीबीसीका अनुसार यो आर्थिक सहायता ५० अरब डलर प्याकेजको एक भाग हो जसको घोषणा जी७ समूहका सदस्य देशहरूले जुनमा गरेका थिए ।

‘जफत गरिएका सम्पत्तिबाट आर्थिक सहायता दिनुको मतलब रसियाले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने हो’ अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले भनिन् ।

उनले मंगलबार अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने जानकारी दिइन् ।

जफत गरेको रूसको सम्पत्तिबाट युक्रेनलाई दिने भनेको ५० अर्ब डलरमध्ये २० अर्ब डलर ऋण अमेरिकाले टुंगो लगाएको छ।

त्यसबाट युक्रेनलाई सन् २०२४ अन्त्यसम्ममा सैन्य र आर्थिक सहायता उपलब्ध गराउने घोषणा अमेरिकाले गरेको हो।

रोयटर्सका अनुसार अमेरिकी अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) जेनेट यलेन र युक्रेनी अर्थमन्त्री सर्है मार्चेन्कोले २० अर्ब डलरको अमेरिकी ऋण प्रतिबद्धतामा बुधबार हस्ताक्षर गरेका छन्।

रूसले युक्रेनमा आक्रमण गरेपछि जी७ र युरोपियन युनियनका राष्ट्रहरूले रूसको केन्द्रीय बैंकले पश्चिमा देशहरूमा राखेको करिब ३२५ अर्ब डलर सम्पत्ति रोकेर राखेका छन्। पश्चिमा राष्ट्रहरूको समूह जी७ को गत जुनमा इटालीमा भएको शिखर सम्मेलनमा रूसको त्यही पैसा प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिने सहमति भएको थियो। त्यसमध्ये अमेरिकाले २० अर्ब डलरको ऋण दिने प्रतिबद्धता व्यक्त गरेको हो।

अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

ट्रम्पले कार्यभार सम्हाल्ने बित्तिकै रसिया-युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले यो घोषणा गरेको हो ।

डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई ‘अमेरिकी स्रोतमा बोझ’ भनेर टिप्पणी गरेका थिए। उनकोको यस बयानपछि नयाँ प्रशासनमा युक्रेनलाई आर्थिक सहायता जारी रहन्छ कि रहँदैन भन्नेबारे शंका उत्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *