काठमाडौंमा जाडो बढ्यो, तापक्रम ४ डिग्रीमा झर्यो
यहाँको मौसम भने सफा रहने छ
२६ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यहाँको मौसम भने सफा रहने छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।