भक्तपुरमा मृत भेटिए राई, घटनास्थलमा स्वचालित हतियार समेत भेटियो
ढोकामा चुकुल लगाई आफूले आफैलाई कञ्चटमा जिएस फाइभ, जर्मन लेखेको कालो रंगको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्।
काठमाडौं : मध्यपुर ठिमी नगरपालिका-६ भक्तपुर बस्ने सनिप चाम्लिङ राई साँझ सवा ४ बजे मृत भेटिएका छन्। राइटोलस्थित साढे ४ तले घरको चौथो तल्लामा बस्ने ४० वर्षीय राई आफ्नै घरको कोठामा मृत भेटिएका हुन्।
ढोकामा चुकुल लगाई आफूले आफैलाई कञ्चटमा जिएस फाइभ, जर्मन लेखेको कालो रंगको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्। उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। घटनाबारे छानबिन भइरहेको छ। प्रहरीका अनुसार राई बेलायत बस्ने गरेका थिए। कहिलेकाहीँ नेपाल आउँदा घरमा बस्ने गरेका थिए।
घटनाको समयमा मृतक राई एक्लै रहेको बुझिएको छ। अविवाहित राईले स्वचालित हतियार कहाँबाट ल्याए ? के कति कारणले आफैंलाई गोली हाने थप अनुसन्धान भइरहेको छ।