मौन अवधिमा गलत काम भए कारबाही हुन्छ : निर्वाचन आयोग

‘मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ’, उनी भन्छन्, ‘त्यस्ता अनियमित काम गर्न जो उद्धत हुन्छन्, ती व्यक्तिहरु पहिचान गरेर कारबाहीको प्रक्रियामा जान्छौं ।’

१९ फागुन, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने बताउँछन् निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ।

‘मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ’, उनी भन्छन्, ‘त्यस्ता अनियमित काम गर्न जो उद्धत हुन्छन्, ती व्यक्तिहरु पहिचान गरेर कारबाहीको प्रक्रियामा जान्छौं ।’

उनका अनुसार आयोगले पटकपटक सरोकारवाला सबैमा आचारसंहिता पालना गर्नका लागि आग्रह गर्दै आएको छ । उनी भन्छन्, ‘कुनै कानूनले निषेध गरेको कुरा भयो र वस्तुगत प्रमाणले ठहर गर्‍यो भने उहाँको मनोनयनपत्र खारेज गछौं । विजयी, पराजयी जे भएपनि उहाँको उम्मेदवारी खारेज गर्छौं र त्योभन्दा पछाडि ६ वर्ष कुनै पनि चुनिने प्रक्रियामा उहाँ सहभागी हुन नपाउनेगरि हामी व्यवस्था गर्छौं ।’

सबै सरोकारवालाहरु आचारसंहिता पालनाका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनी थप्छन्, ‘यदि त्यस्तो कुनै गलत काम भयो भने त्यसमा शून्य शहनशिलता हुन्छ । सबै सरोकारवालाहरुले जहाँ, जस्तो जे पाउनुहुन्छ, सूचना निर्वाचन आयोगलाई दिनुस् । त्यस्ता विषयमा कारबाही गर्न निर्वाचन आयोग पछि हट्दैन ।’

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दल र दलका उम्मेदवारले आफ्ना मतदान स्थलको ३ सय मिटर वरिपरि निर्वाचन प्रसारप्रसारका सामग्री राखेको छ भने त्यसलाई हटाउनुपर्ने हुन्छ ।

उनी भन्छन्, ‘ कुनै पनि निर्वाचन प्रचारप्रसारको सामग्रीहरू तुल, पोष्टरहरु राखेको छ भने त्यो पनि हटाइदिनुपर्छ । सामाजिक सञ्जालमा कुनै उम्मेदवारलाई सर्मथन गर्ने, कुनै उम्मेद्वारलाई मत माग्ने, कुनै उम्मेदवार चाहिँ ठीक छैन भनेर उसलाई तिरस्कार गर्नेलगायतका विषयवस्तु प्रकाशित गरिएको छ भने त्यो सबै हटाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *