चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
अमेरिकी डलरमा चार महिनामा ३ अर्ब ८७ करोड रेमिट्यान्स भित्रिएको छ
२७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार यो रेमिट्यान्स रकम गत आवको यसै अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो । यो कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा चार महिनामा ३ अर्ब ८७ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
यद्यपि पछिल्लो समय रेमिट्यान्समा व्यापक सुधार देखिएको छ। मासिक रुपमा १ खर्बमाथि रेमिट्यान्स भित्रिएको छ।
वैदेशिक रोजगारमा जानेको संख्या समेत बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।