रविको भनिएको भाइरल फोटोको वास्तविकताको अनुसन्धानमा जुट्यो प्रहरी
कार्यकर्ता डा. निकोलस भुसालले यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन्
४ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा अहिले भाइरल भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ ।अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन । ती व्यक्ति सभापति लामिछाने हुन् भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
यो फोटो रास्वपाका कार्यकर्ताहले कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालयले त्यो फोटोको वास्तविकताबारे अनुसन्धान जारी रहेको बताए ।
रास्वपाका एक कार्यकर्ता डा. निकोलस भुसालले यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो फोटो रियल हो मैले नै खिचेको हो ।’ यसबारे वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् ।
यो फोटो कहाँको हो, कसको हो, कसले खिच्यो, कसरी खिच्यो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ ।