धनगढीको पसलमा आगलागी, झन्डै डेढ करोड क्षति
सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति
८ पुस, काठमाडौं । धनगढीमा चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
टसर अन्सारीले आइतबार साँझ शहीद गेटमा सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगो सँगैका अन्य पसलमा समेत फैलिएर बढी क्षति भएको प्रहरीले जनाएको छ ।
विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
उनका अनुसार समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९ १० लाख बराबर क्षति भएको छ ।
सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।