बाबु-छोरा मृत भेटिएको कोठा शनिबारदेखि नै बन्द थियो
ठो छोरा मिलन आर्चाय भने फरार छन्
८ पुस, काठमाडौं । भक्तपुरको बालकोट फिकाधारामा ५६ वर्षीय कूलप्रसाद आचार्य छोरासँगै मृत फेला परेका छन्। उनका २२ वर्षीय छोरा प्रविन आचार्य पनि मृत फेला परेका हुन्।
रूपाकोट मजुवागढी–१ खोटाङ घर भएका कुलप्रसाद जिल्ला हुलाक कार्यालयका निमिक्त कार्यालय प्रमुख हुन्। उनका दुई छोरा भक्तपुरको बालकोटमा बसेर पढ्दै थिए। जेठो छोरा मिलन आर्चाय भने फरार छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका ढुण्डिराज नेउपानेका अनुसार दुईवटा फरक फरक कोठामा आर्चायका बाबुछोरा मृत भेटिएका हुन्। उनीहरूको टाउकोको पछाडि र कानमा समेत चोट भेटिएको छ। आर्चाय परिवारले चार वर्षदेखि उक्त घरमा कोठा लिएर बस्दै आएका थिए।
डीएसपी नेउपानेका अनुसार उनीहरू साढे तीन तले घरको भुइतल्लामा २ वटा कोठा लिएर बस्ने गरेका थिए। मिलन लोकसेवा आयोगको तयारी गरिरहेका थिए भने प्रविनले भीएस निकेतनमा बीएस्सी अध्ययन गर्दै आएका थिए। बाबुछोराको शरीरमा चोटैचोट देखिएको र उक्त कोठा बाहिरबाट ताला लगाएको अवस्थामा रहेकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। एक प्रहरी अधिकारीले भने सँगै खाना खाएर सुतेका जेठा छोरा फरार रहेकाले पनि हत्या भएको हुनसक्ने अनुमानलाई पुष्टि गर्छ भने।
अर्का छोरा सम्पर्कमा आएपछि थप कुरा खुल्नेछ। अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएको छ। विज्ञ टोली खटाएको छ। फरेन्सिक विज्ञको टोली नै घटनास्थलमा गएर अनुसन्धान अगाडि बढाएको छ। उनीहरूको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ।