नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीहरू रहेको पाइएपछि तत्काल स्थानान्तरण गर्न सुझाव दिइएको छ


९ पुस, काठमाडौं । नवलपरासी कारागार क्षमताभन्दा बढी कैदीबन्दी रहेको पाइएपछि उनीहरूलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ । जिल्लामा रहेको कारागार र हिरासत अनुगमन गर्न आएको मुख्य न्याधिवक्ताको कार्यालय लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा आएको टोलीले उक्त सुझाव दिएको हो ।

नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीहरू रहेको पाइएपछि तत्काल स्थानान्तरण गर्न सुझाव दिइएको छ । अनुगमनका क्रममा टोलीले कारागारमा क्षमताभन्दा अधिक संख्यामा कैदीबन्दी रहेकाले केहीकैदी बन्दीको संख्या तत्काल स्थानान्तरण गर्नुपर्ने,थुनामा रहेका प्रायः युवा नै रहेकोले श्रम र रोजगारीको लागि व्यवस्था गर्नुपर्ने सुझाव दिइएको कारागार कार्यालयका प्रशासक अर्जुनप्रसाद रेग्मीले जानकारी दिए ।

कारागारको क्षमता १७५ जनाको हो । २५ महिला र १५० पुरुष राख्ने क्षमता भएको कारागारमा अहिले ३ बालबालिकासहित ९० जना महिला र ४६३ जना पुरुष गरी ५५३ जना कैदीबन्दीहरू रहेको रेग्मीले जानकारी दिए । रुपन्देही र कपिलवस्तुमा महिलालाई राख्ने ठाउँ नभएकाले त्यस जिल्लाका महिला बन्दीलाई नवलपरासी नै पठाइने गरिएको छ । त्यसबाहेक अन्य जिल्लाका महिला र पुरुष पनि कारागारमा रहेको कारागार प्रशासक रेग्मीले बताए ।

पुरुष कैदीबन्दीहरू अन्य जिल्लाभन्दा नवलपरासी र नवलपुरका बढी छन् । कैदीबन्दीहरूको संख्या बढी भएपछि स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको हुनसक्ने रेग्मीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *