भीम रावललाई अनुशासनहिन काम गरेपछि एमालेबाट निष्कासित गरिएको हो : शंकर पोखरेल
३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको
१२ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थीरताको बीउ रोपेको आरोप लगाएका छन्।
शुक्रबार चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अस्थीरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको समेत बताए।
३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनको भनाइ छ । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायीत्व र विकासका लागि भएको जिकिर गरे । अहिले ठूला दल मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताए । पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको बताए।
अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको उनले बताए। निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टी भित्रै प्रभावकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको बताए।