दक्षिण कोरियामा विमान दुर्घटना : ९६ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
अन्य ७६ यात्रुको पनि मृत्यु भएको आशंका गरिएको छ तर पुष्टि भने भएको छैन
१४ पुस, काठमाडौं । आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनापछि हालसम्म विमानमा सवार १८१ जनामध्ये ९६ जनाको शव निकालिएको जनाइएको छ । २ जनालाई जीवितै उद्धार गरिएको छ।
विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।
उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।
अन्य ७६ यात्रुको पनि मृत्यु भएको आशंका गरिएको छ तर पुष्टि भने भएको छैन ।
विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो । जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो ।
विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बारमा ठोक्किएपछि दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए ।
दुर्घटना स्थानीय समयअनुसार ९ः०७ मा भएको थियो।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।
अहिले दुर्घटनास्थलमा उद्धार कार्य जारी छ ।