इटहरी उपमहानगरको गेट अगाडि शंकास्पद वस्तु फेला
प्रहरीका अनुसार कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको थियो
१६ पुस, काठमाडौं। इटहरी उपमहानगरपालिकाको गेट अगाडि र धरानको भोटे पुल नजिकै शंकास्पद वस्तु फेला परेको छ। उपमहानगरपालिकाको गेट अगाडि कालो झोलामा तारसहितको शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि अहिले नेपाली सेनाले टोलीले डिस्पोज गर्न लागेको सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए।
आज बिहान उपमहानगरपालिका कार्यालय अगाडिसहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगेको थियो । सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला परेको थियो । उक्त शंकास्पद वस्तु बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । प्रहरीका अनुसार कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको थियो ।
राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला परेन । उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको बताए ।