रवि लामिछानेसहित सातजनाको मुद्दामा दोस्रो दिनको थुनछेक बहस जारी
थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ
१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीमा दोस्रो दिनको थुनछेक बहस जारी छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बहस जारी रहेको छ। कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले सरकारी वकिलको बहस जारी रहेको जानकारी दिए।
सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ , कृष्णबहादुर गुरुङ र आरती गुरूङलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
मंगलबारबाट लामिछानेसहित सातजना प्रतिवादीविरुद्धको थुनछेक बहस सुरू भएको हो। मंगलबार आरती गुरूङको बयान सकिएलगत्तै थुनछेक बयान सुरू भएको थियो।
सातैजना प्रतिवादीको हकमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस सुरू भएको हो। सरकारतर्फबाट बहस गरेका शान्तिदेवी शर्मा र सुजाता पौडेलले सहकारी ठगीको आरोप लागेका लामिछानेसहित सातैजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गर्नुपर्ने तर्क गरेका थिए।
प्रहरीको अनुसन्धान प्रतिवेदन,संसदीय छानबिन विशेष समितिको प्रतिवेदन र पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदनका आधार,कारण र प्रमाणबाट सातैजनालाई थुनामा पठाउनुपर्ने तर्क उनीहरूको थियो।
सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुने जनाइएको छ। थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ।