कुकुरलाई क्रुरतापूर्वक मार्ने दुईजना पक्राउ, मुद्दा चलाउने तयारी
३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी पक्राउ परेका छन्
१८ पुस, काठमाडौं । क्रुरतापूर्वक कुकुर मार्ने दुईजनालाई नवलपरासी प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी पक्राउ परेका छन् ।
पाँचवटा कुकुरका छाउरा र एउटा माउलाई क्रुरतापूर्वक मारेको उनीहरूले माथि आरोप छ । राजकुमारले कुकुरका छाउरालाई भूइँमा पछारेर मारेको र मरेपछि नदीमा फालेका थिए ।
उनीहरूमाथि मुलुकी अपराधसंहिताको पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा चलाइनेछ । पशुपंक्षीसम्बन्धी कसुरमा तीन महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजायको दफा उल्लेख गरी प्रतिवेदन तयार भएको र त्यसको आधारमा मुद्दा चलाइने तयारी गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले कुकुर मारेको दृष्यलाई अमनले चार दिनअघि भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसैको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताए ।