बझाङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु
उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो
१९ पुस, काठमाडौं । बझाङमा २ ठाउँमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका–४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृति धामी रहेका प्रहरीले जनाएका छन्।
चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै थियो ।