प्रत्येकको घरमा खानेपानी र नलको व्यवस्था गर्छौं : मन्त्री यादव

शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको निकै हाहाकार हुने सम्भावना छ

१९ पुस, काठमाडौं । नेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताएका छन्। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैयाको आयोजनामा मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कुलदेखि भतौडा पोखरी (३.४ किमी) नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्।

बारा जिल्लामा घाम पानीले क्षति पुर्‍याएका खानेपानीका सबै ट्यांकीहरू मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने म बचन दिन चाहन्छु, उनले भने।

उनले पछिल्लो समय चुरे दोहन, जङ्गल फडानी गर्ने कार्य बढेको र जलवायु परिवर्तनका कारण तराईका विभिन्न क्षेत्रमा रहेका भूमिगत खानेपानीसहित चापाकलहरू सुक्दै गएकाले आगामी दिनमा तराईका क्षेत्रमा पानीको निकै समस्या उत्पन्न हुने बताए।

विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो। चुरे दोहन, जङ्गल फडानी तथा जलवायु परिवर्तनका कारण तीन सय फिटमा पनि आउँन छोडेको छ। शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको निकै हाहाकार हुने सम्भावना छ। सरकार हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पुर्‍याउनका लागि कटिबद्ध छ, उनले भने।

बाराको सिस्वा गाउँबासी एवं आसपासका क्षेत्रका लागि खानेपानी आयोजना निर्माण गर्न आगामी महिना १४ करोडको टेण्डर आह्वान गर्ने कार्ययोज ना रहेको मन्त्री यादवले बताए। उनले भने, म खानेपानी मन्त्री हुँ। मेरो काम नागरिकलाई शुद्ध पानी खुवाउनु हो। मेरो कार्यकालमा सबै नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *