३४ बन्दीलाई रिहा गर्दै हमास, बिपीनको आशमा नेपाल सरकार

१० महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्धकलाई पहिलो चरणमा रिहा गर्न लागिएको


२३ पुस, काठमाडौं । हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । सन् २०२२ को अक्टोबर ७ मा हमास आतंककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीहरूमध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागिएको सूचना सार्वजनिक भएको छ।

१० महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्धकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई प्राथमिकता दिइएको हमासले सो सूचनामा जनाएका छन्। सन् २०२२ को अक्टोबरमा हमासले गरेको सो आक्रमणमा परी १० जना नेपालीसहित एकहजार भन्दा बढीको ज्यान गएको थियो।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भयो भने पहिलो चरणमा आफूले ती बन्दीहरु रिहा गरिने भनेर सो सूचना सार्वजनिक गरेको हो। सो समूहले दिएको ३४ बन्धकहरूको सूचीमा इजरायली नागरिकहरु मात्र रहेका बताइएको छ । तर, इजरायल सरकार भने यस विषयमा केही थाहा नभएको बताउँछ ।

सोही हमलापछि हमासका लडाकुहरूले बिपीन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेका थिए। यसैबीच नेपाल सरकारले बिपीनको रिहाइका लागि आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ। केही समयअघिको एक भिडियो फुटेजमा बिपीन जिवितै रहेको सूचना नेपालले पनि प्राप्त गरेको थियो।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू नियुक्त भएलगत्तै नेपालका लागि इजरायलीदेखि सबै देशका राजदूतहरूलाई बिपीनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्। त्यसैगरी ती बन्दीको रिहाइका लागि मध्यस्थता एवं सहजीकरणको काम गरिरहेको कतार र इजिप्टसँग पनि उनले बारम्बार आग्रह गरेकी थिइन्। मन्त्री राणाले संयुक्त राष्ट्रसंघीय ७९औं महासभाका क्रममा आयोजित विभिन्न कार्यक्रमहरूमा बिपीनको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग पनि आग्रह गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *