सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए


२५ पुस, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । प्रहरीले बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पोखरेलमाथि अनुसन्धान सुरु भएको जानकारी दिए ।

पोखरेलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।

ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।

ऋषिकेश पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् । बिहीबार बिहान उनका स्वकिय सचिव पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *