थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने
थारू कल्याणकारिणी सभासहित थारू संघसंस्थाको आयोजनामा माघी महोत्सव आयोजना हुने भएको हो
२६ पुस, काठमाडौं । पुस २९ गते र माघ १ गते थारू समुदायले काठमाडौंको टुँडिखेलमा माघी महोत्सव २०८१ मनाउने भएको छ । थारू कल्याणकारिणी सभासहित थारू संघसंस्थाको आयोजनामा माघी महोत्सव आयोजना हुने भएको हो।
प्रधामन्त्री केपी शर्मा ओलीले महोत्सवको उद्घाटन गर्ने मूल आयोजक समितिका संयोजक एवं सभाका सभापति प्रेमीलाल चौधरीले जानकारी दिए। उनका अनुसार महोत्सवमा थारू जनप्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ। थारू समुदायको नयाँ वर्षको रूपमा रहेको माघीलाई उत्सवको रूपमा मनाउने गरिएको संयोजक चौधरीले बताए ।
‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौं। थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि महोत्सव आयोजना गरेका हौं। प्रधानमन्त्रीले महोत्सवको उद्घाट गर्नुहुनेछ, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।
उनका अनुसार माघी महोत्सव सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ। महोत्सवमा थारू खानाका परिकारको स्टल, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत सयभन्दा बढी स्टलहरू रहनेछन्।
महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरूको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए। महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।