प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पूर्वसांसद कार्की पनि निलम्बनमा

कार्कीले सामाजिक सञ्जालमा प्रश्न गर्दा ६ महिनाका लागि निलम्बनमा परेका हुन्


२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दा एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की पनि ६ महिनाका लागि निलम्बनमा परेका छन् । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीले सामाजिक सञ्जालमा प्रश्न गर्दा ६ महिनाका लागि निलम्बनमा परेका हुन् ।

‘स्टाटस पनि निरन्तर लेख्नुभयो, अरु पनि कारण थिए,’ उनले भने, ‘केही दिनअघि प्रदेश कमिटीको सचिवालय बैठकले ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो, प्रदेश कमिटी बैठकले अनुमोदन गर्‍यो ।’ पुस २७ र २८ मा एमाले कोशी प्रदेश कमिटी बैठक बसेको थियो ।

कार्की प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य हुन् । प्रदेश कमिटी बैठकले थप तीन जना प्रदेश कमिटी सदस्यलाई पनि स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधिएका नेताहरुको नाम भने सार्वजनिक गरेनन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सामाजिक संजालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो । कार्की २०७४ को प्रदेश सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *