भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना
एउटा घाउ मेरुदण्ड नजिकै छ
३ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि राति चक्कु आक्रमण भएको छ। प्रहरीका अनुसार रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु प्रहार गरेका हुन् । ति व्यक्ति चोरी गर्नका लागि शैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेका थिए ।
अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बिहान करिब २ः३० बजे सैफ अली खान र उनकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो। यस समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए। चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उल्लेख गरेको छ।
उक्त रिपोर्टमा घटनाको बारेमा एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ।’
सैफलाई राती ३ः३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो।
उनको शरीरमा छ ठाउँमा चोट लागेको छ। जसमध्ये दुई घाउ गहिरो भएको डाक्टरले जनाएका छन्। एउटा घाउ मेरुदण्ड नजिकै छ। उनको शल्यक्रिया भइरहेको छ। शल्यक्रिया पछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिने जनाइएको छ।