सिन्धुपाल्चोकस्थित सिन्धु विकास बैंकमा आगलागी
प्रहरीले आगलागीका कारण के कति क्षति भयो अध्ययन गरिरहेको जनाएको छ

५ माघ, काठमाडौं । सिन्धुपाल्चोकस्थित सिन्धु विकास बैंकको लामेसाँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका–८ लामोसाँघुमा रहेको बैंकमा आगलागी भएको हो।
‘आगलागीबाट सिन्धु विकास बैंकको कार्यालय ध्वस्त भएको छ’, बलेफी गाउँपालिका– ८ वडाध्यक्ष रमेश श्रेष्ठले भने– ‘सँगै रहेको ग्रिल्ड सहकारीमा पनि क्षति पुगेको छ।’ आगलागी इन्भर्टरको लाइन सर्ट भएर भएको उनले जनाए। आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको श्रेष्ठले जानकारी दिए।
प्रहरीले स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको बताएको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीले आगलागीका कारण के कति क्षति भयो अध्ययन गरिरहेको जनाएको छ।