भारतको महाराष्ट्रमा रेल दुर्घटना, मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति


१० माघ, काठमाडौं । भारतको महाराष्ट्रमा रेल दुर्घटनाबाट कम्तिमा १३ जनाको मृत्यु भएको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि र अर्को लिकमा आइरहेको रेलमा पर्दा उनीहरूको मृत्यु भएको घटना भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी, हिमु विश्वकर्मा लगायत रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *