डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु
बिहान ९ बजे आगलागी हुँदा ७५ वर्षीय वृद्ध बादी सार्कीको सुतेको अवस्थामै जलेर मृत्यु भएको

१६ माघ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकामा आगलागीमा परी ७५ वर्षीय वृद्धको मृत्यु भएको छ। मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा बुधबार आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।
वडा नम्बर–४ ईल स्थित गाउँमा रहेको बादी कामीको घरमा बिहान ९ बजे आगलागी हुँदा ७५ वर्षीय वृद्ध बादी सार्कीको सुतेको अवस्थामै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।
आगलागी पछि ईल स्थित प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीय मिलेर गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरिएको थियो। आगलागीको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलीसमेत घटनास्थल गएको बताइएको छ।