पाथीभरामा ‘नो केबलकार’ समूह र सरकारबीच आज पनि वार्ता
सोमबार राति अबेरसम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आज दोस्रो दिन पनि वार्ता हुन लागेको हो

२२ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्नुपर्ने माग गर्दै आन्दोलनरत पक्ष र सरकारबीच आज पनि वार्ता हुँदै छ ।
सोमबार राति अबेरसम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आज दोस्रो दिन पनि वार्ता हुन लागेको हो । आजको वार्ता बिहान ११ बजे हुने तय भएको छ ।
ललितपुरको हिमालय होटलमा सोमबार भएको वार्तामा संघर्षरत पक्षले केबलकार निर्माण कार्य रोक्न माग गरेको थियो ।
वार्तामा केबलकार बनाउन नहुने पक्षबाट अमर तुम्याहाङ संयोजकत्वको टोली सहभागी थियो । यसैगरी सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजकत्वको टोली सहभागी थियो ।
सरकारले वार्ता टोली बनाएसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको ४ सदस्यीय टोली गठन गरेको थियो ।
संघर्षरत पक्षका टोली संयोजक अमर तुम्याहाङले पहिलो दिनको वार्ता निष्कर्षमा नपुगे पनि सकारात्मक ढंगले छलफल अघि बढेको बताए ।