कांग्रेस-एमालेलाई प्रचण्डले भने- अहिलेको थ्रेसहोल्ड तपाईँहरूलाई नै धेरै हुँदैछ, अरुको चिन्ता नगर्नोस्
कांग्रेस र एमालेका केही नेताले अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो

२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अहिलेको थ्रेसहोल्ड कांग्रेस–एमालेलाई नै धेरै हुने दाबी गरेका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थ्रेसहोल्डका बारेमा अरुको चिन्ता नगर्न आग्रह गरे।
‘कांग्रेस र एमालेका केही नेताले अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो। म ती नेताहरूलाई सोध्छु, आज देश बहुदलीय भएको तपाईँहरूको दया मायाले हो? तपाईँको करुणाले बनेको हो नेकपा (माओवादी केन्द्र)? तपाईँले दयाले खोलिदिएको हो कुनै बेलाको मधेसी जनअधिकार फोरम? तपाईँहरूले बक्सिस् दिएर आएको हो, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट? तपाईँले चाहेर बनेको हो, सिके राउतजीले नेतृत्व गरेको जनमत पार्टी? तपाईँहरू चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टीको उपस्थितिरु यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अलग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईँहरूलाई नै धेरै हुँदैछ, अरुको चिन्ता नगर्नोस्,’ उनले भने।
आफ्नै पार्टीबाट कार्यकर्ता पलायन भइरहेको भन्दै पछिल्ला बहिखाता हेर्न र घमन्डबाट ब्युँझिन उनको आग्रह थियों। ‘कुनै बेला सोह्र वर्षमा पन्ध्र सरकार बनाएर कीर्तिमान कायम गरेका तपाईँहरूले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशीतालाई संशोधन गर्न त परको कुरा, छुन पनि सक्नुहुन्न। यो मेरो खुला चुनौती भयो,’ उनले भने।