माओवादी अध्यक्ष प्रचण्डले संसदमा खोजे प्रधानमन्त्री
प्रचण्डले प्रतिनिधिसभामा बिहीबार बोल्ने क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजे
२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन्। संसद बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि अध्यक्ष प्रचण्डले उनको खोजी गरेका हुन्।
प्रचण्डले प्रतिनिधिसभामा बिहीबार बोल्ने क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजे ।
ठूलो दल अर्थात् कांग्रेसका नेता शेरबहादुर देउवा केही ढिलोगरी आइपुग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । सामान्यतयाः विपक्षी दलका नेता बोल्दा सत्तापक्षका प्रमुख नेता उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने सरकारी निवास बालुवाटारमै रहेको उच्च स्रोतले बतायो ।
‘प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्ने क्रममा सत्ता पक्षका नेताहरू, प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय मर्यादा विपरीत हो। आशा गर्छु उहाँ आइपुग्नु हुन्छ। अथवा उहाँले मेरो कुरा हेरिरहनुभएको छ भन्ने आशा गरेको छु,’ उनले भने।