गणतन्त्रको विकल्प राजतन्त्र र लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन: गृहमन्त्री लेखक
समाज विकासको विज्ञानले समाज पछि फर्कंदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ ।

२४ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन डोटीले आज (शनिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन ।’
लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने उनको भनाइ छ । ‘आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन्’, उनले भने, ‘नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ ।’
उनले लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको बताए । समाज विकासको विज्ञानले समाज पछि फर्कंदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ ।
उनले पूर्व राजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिए ।