पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ?
स्वागतका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् ।
२५ फागुन, काठमाडौं । पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किंदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् ।
राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरु पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।
स्वागतका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतारेका छन् । उनीहरुलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।
राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।