बागबजारको प्रहरी कार्यालयकै छेउमा युवक मारिए, ३ वर्षसम्म यो घटना रहस्यकै गर्भमा
दिउँसै मध्यसडकमा करिब ३०/४० जनाको भिड अगाडि व्यक्ति हत्या हुँदा समेत प्रहरीले अहिलेसम्म त्यसको गुत्थी पत्ता लगाउन सकेको छैन ।

१ चैत, काठमाडौं । काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा २०७८ सालको फागु पूर्णिमाका दिन एक व्यक्तिको जघन्य हत्या भयो । तर तीन वर्ष बितिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन ।
प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको दाबी गरे पनि तीन वर्षदेखि यो घटना रहस्यमय छ । युवकलाई दिनदहाडै मार्ने समूहको भिडिओ नै फेला परेको छ । न भिडिओबाट हत्याराको पहिचान हुन सकेको छ, न अनुसन्धानमा प्रहरीले कुनै प्रगति गरेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) कमान्ड गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट करिब डेढ/दुई सय मिटर टाढा भएको यो अपराधको गुत्थी सुल्झाउन प्रहरीलाई निकै सकस परेको छ ।
दिउँसै मध्यसडकमा करिब ३०/४० जनाको भिड अगाडि व्यक्ति हत्या हुँदा समेत प्रहरीले अहिलेसम्म त्यसको गुत्थी पत्ता लगाउन सकेको छैन ।
सडकमै होलीको दिन मारिएका व्यक्ति अन्दाजी २५ वर्षका रोशन राई हुन् । उनी बागबजारस्थित भक्तपुर बसपार्ककै सार्वजनिक शौचालयमा काम गर्दै आएका थिए । पैसा लिएर शौचालय प्रयोग गर्न दिने काम गरिरहेका उनी होलीको दिन (४ चैत २०७८) दिउँसो साढे १२ बजे बागबजारको भक्तपुर बसपार्कस्थित सडकमा मारिएका थिए ।
प्रहरीको अनुसन्धान अनुसार शौचालय प्रयोग गरेका व्यक्तिले पैसा नदिएपछि राईले चक्कु लिएर ती व्यक्तिलाई केही परसम्म लखेटका त्यसपछि फर्कने क्रममा भने राईमाथि आक्रमण हुन्छ ।
पैसा नदिएको भनिएकै समूहका केही व्यक्ति उनको पछि/पछि दौडिँदै आएको र तीन जनाले लडाएर उनलाई कुटपिट गरेर उनलाई अचेत अवश्थामा छाडेर भाग्छन् ।
आक्रमणकारी फरार हुन्छन् । बागबजारको व्यवस्त सडकमा मध्य दिन मान्छेको ओहोरदोहार पनि भइरहन्छ । तर भुईंमा ढलेका राईलाई उद्धार गरेर कसैले पनि अस्पताल पुर्याउँदैन ।
४/५ जना समूहको आक्रमणबाट युवकको मृत्यु भएको तीन वर्ष पूरा भएको छ । तर घटना भने अझै सुल्झन सकेको छैन । राईको हत्या भएपछि प्रहरीले सीसी क्यामेराको आधारमा अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यतिबेला निकै चासो देखाएका थिए ।
यो तीन वर्षको बीचमा परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयमा गरेर करिब एक दर्जन एसएसपी फेरिए । तर दिनदहाडै प्रहरी कार्यालयकै अगाडि मारिएका राईको हत्यारा पहिचान गर्न प्रहरीले सकेको छैन ।